भोटेकोशी बाढी प्रभावित क्षेत्र पुगे बलिउड अभिनेता सोनु सूद

काठमाडौं । बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली पुगेका छन्। भारतबाट आएका सहयोगीहरूको टोलीसहित उनी बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

बाढीले तहसनहस पारेको त्रिशूली नदी किनारबाट तस्बिर सार्वजनिक गर्दै सूदले आफूले त्यहाँ अकल्पनीय क्षति देखेको बताएका छन्।

उनले बाढीबाट भत्किएका घर, विस्थापित परिवार र प्रभावित मानिसहरूको अवस्था देख्दा आफू भावुक भएको उल्लेख गर्दै नेपाल एक्लो नभएको बताएका छन्।

सूदले प्रभावित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। उनले घर पुनर्निर्माणमा सहयोग गर्ने, प्रभावित परिवारमा आशा जगाउने र उनीहरूलाई नयाँ सुरुवात गर्न सक्दो सहयोग गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज यहाँ त्रिशूली नदी किनारमा उभिँदा बाढीले छाडेर गएको अकल्पनीय क्षति देखिरहेको छु। भत्किएका घरहरू, उजाडिएका परिवारहरू र सधैंका लागि बदलिएका जीवनहरू। नेपाल एक्लो छैन। म नेपाली जनताको साथमा छु।’

उनले थप लेखेका छन्, ‘आशा जगाउन, घरहरू पुनर्निर्माण गर्न र प्रभावित परिवारलाई फेरि नयाँ सुरुवात गर्न मद्दत गर्न म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु।’

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले घर, सडक, पुल, विद्यालय तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin