आईसीयुमा अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आईसीयुमा बिरामीको अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएकी छन्।

केही दिनअघि सञ्चारकर्मी सुरजसिंह ठकुरीले ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलका लागि सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका दुई जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयुमा पुगेर अन्तर्वार्ता लिएका थिए।

सांसद बाँस्कोटाले आईसीयु जटिल बिरामीको उपचारका लागि छुट्याइएको संवेदनशील कक्ष भएकाले त्यहाँ अन्तर्वार्ता लिनु वा लिन अनुमति दिनु नैतिक रूपमा उचित भए–नभएको प्रश्न गरिन्।

उनले अन्तर्वार्ताका क्रममा अन्य बिरामी पनि आईसीयुमा रहेको भए उनीहरूको स्वास्थ्य तथा जीवनमा जोखिम पर्न सक्ने बताइन्। क्यामेरा, क्यामेराम्यानलगायत धेरै व्यक्ति क्रिटिकल केयर युनिटमा उपस्थित हुँदा अस्पताल प्रशासन र सम्बन्धित चिकित्सक कति गम्भीर बने भन्ने विषयमा पनि छानबिन हुनुपर्ने उनको भनाइ छ।

‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुँदैन,’ बाँस्कोटाले भनिन्, ‘मानव जीवनलाई टीआरपीमा तौलिने काम बन्द हुनुपर्छ।’

उनले सरकारलाई मेडिकल लापरबाहीसम्बन्धी विधेयक छिट्टै ल्याउनसमेत आग्रह गरेकी छन्।

घटनाबारे प्रेस काउन्सिल नेपालले समेत ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले अस्पताल, नेपाल मेडिकल काउन्सिल र सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई पत्राचार गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin