काठमाडौं । अस्ट्रेलियाले अधिकांश विदेशी विद्यार्थीले अध्ययनका क्रममा पति/पत्नी, पार्टनर तथा आश्रित सन्तानलाई आफूसँगै लैजान पाउने व्यवस्था हटाउने भएको छ।
अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नयाँ आप्रवासन नीतिअन्तर्गत अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो विद्यार्थी भिसामा परिवारका सदस्यलाई समावेश गर्न नपाउने घोषणा गरेका हुन्।
सरकारले भने यो व्यवस्था सबै विद्यार्थीमा लागू नहुने जनाएको छ। पीएचडी अध्ययन गर्ने विद्यार्थी तथा दक्षिण–पूर्वी एसिया र प्रशान्त क्षेत्रका केही देशका नागरिकका लागि विशेष व्यवस्था रहनेछ। अस्ट्रेलियामा यसअघि नै परिवारसहित रहेका विद्यार्थीको परिवारलाई भने अलग गरिने छैन।
हाल अस्ट्रेलियाको विद्यार्थी भिसा (सबक्लास ५००) मा विद्यार्थीले पति/पत्नी, डिफ्याक्टो पार्टनर तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई समावेश गर्न सक्ने व्यवस्था छ। नयाँ नीतिले यही परिवार ल्याउने माध्यमलाई अधिकांश विद्यार्थीका लागि बन्द गर्नेछ।
सरकारले आप्रवासनको चाप घटाउने उद्देश्यले नयाँ व्यवस्था ल्याएको हो। अस्ट्रेलियाले सन् २०२८ सम्म खुद विदेशी आप्रवासन (net overseas migration) करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा ल्याउने लक्ष्य राखेको छ।
गत आर्थिक वर्षमा अस्ट्रेलियाले ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसा जारी गरेकोमा ४५ हजार ९९१ आवेदन परिवार वा आश्रितका रूपमा रहेका थिए। नयाँ व्यवस्थाले विशेषगरी परिवारसहित अस्ट्रेलिया अध्ययन गर्न जाने योजनामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष असर पार्ने देखिन्छ।



