नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र जापानी समकक्षीबीच छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा जापानी विदेशमन्त्री मोटेगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले बाढी प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए।

जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

भेटमा परराष्ट्रमन्त्री खनालले विपद्का बेला जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताप्रति धन्यवाद दिए। उनले बाढीमा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसहित सबैको खोज तथा उद्धारका लागि नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको जानकारी गराए।

भेटवार्तामा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको विषयमा पनि छलफल भएको थियो। जापानी विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।

आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे।

परराष्ट्रमन्त्री खनालले जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद दिँदै कूटनीतिक सम्बन्धको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin