काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम वाग्लेलाई प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार शाह सेप्टेम्बर २६ मा नेपाल फर्कने तालिका छ।
प्रधानमन्त्रीको अनुपस्थितिमा वाग्लेले सरकारका दैनिक कामकारबाही सम्हाल्नेछन्। प्रधानमन्त्रीकै सिफारिसमा उनलाई रक्षा मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल पनि न्युयोर्कमा रहेकाले वाग्लेले परराष्ट्र मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने व्यवस्था गरिएको छ।
यसैबीच, कार्यवाहक प्रधानमन्त्री वाग्लेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।



