काठमाडौँ । Apple ले आफ्ना पुराना तथा लोकप्रिय स्मार्टफोन iPhone 4 र iPhone 5 लाई विश्वव्यापी रूपमा ‘अप्रचलित’ (Obsolete) उत्पादनको सूचीमा समावेश गरेको छ। १७ मार्च २०२६ देखि लागू भएको यस निर्णयसँगै अब यी डिभाइसहरूका लागि कम्पनीबाट प्रदान गरिने सबै प्रकारका आधिकारिक हार्डवेयर सेवाहरू बन्द भएका छन्।
एप्पलको नीतिअनुसार कुनै पनि उत्पादन बिक्री बन्द भएको पाँच वर्षपछि ‘भिन्टेज’ सूचीमा राखिन्छ। यस अवधिमा आवश्यक पार्टपुर्जा उपलब्ध भएमा आधिकारिक सेवा प्रदायकहरूले मर्मत सेवा दिन सक्छन्। तर सात वर्ष पूरा भएपछि ती उत्पादनहरू ‘अप्रचलित’ बन्छन्, जसपछि एप्पलले पार्टपुर्जा उपलब्ध गराउन र मर्मत सेवा दिन पूर्ण रूपमा बन्द गर्दछ।
सन् २०१२ मा सार्वजनिक गरिएको iPhone 5 एप्पलको इतिहासमा महत्वपूर्ण मोडेल मानिन्छ। यसमा पहिलोपटक ३०-पिन कनेक्टर हटाएर लाइटनिङ पोर्ट समावेश गरिएको थियो। साथै ४ इन्चको डिस्प्ले, एल्युमिनियम डिजाइन र एलटीई सपोर्टजस्ता विशेषताले यो फोन निकै लोकप्रिय बनेको थियो। सन् २०१३ मा नयाँ मोडेल सार्वजनिक भएसँगै यसको उत्पादन बन्द गरिएको थियो भने २०१८ देखि ‘भिन्टेज’ सूचीमा रहेको यो फोन अहिले पूर्ण रूपमा ‘अप्रचलित’ बनेको हो।
त्यसैगरी, सन् २०११ मा सार्वजनिक गरिएको ८ जीबी क्षमताको iPhone 4 लाई पनि अहिले ‘अप्रचलित’ सूचीमा थपिएको छ। यसअघि नै यसका अन्य भेरियन्टहरू उक्त सूचीमा परिसकेका थिए।
यी दुवै मोडेलहरू विकसित देशमा बिक्री बन्द भइसकेपछि पनि नेपालजस्ता विकासोन्मुख बजारमा सस्तो स्मार्टफोनका रूपमा प्रयोगमा रहेका थिए। तर अब आधिकारिक सेवा बन्द भएसँगै प्रयोगकर्ताहरूले मर्मत तथा पार्टपुर्जा उपलब्धतामा समस्या भोग्न सक्ने देखिएको छ।



