काठमाडौं, चैत १० – विश्वप्रसिद्ध प्रविधि कम्पनी हुवावेले स्मार्टफोनको दुनियाँमा एउटा नयाँ र अचम्मको प्रयोग गरेको छ। हुवावेले चीनमा आफ्नो नयाँ फ्ल्यागसिप फोन Mate 80 Pro Max Wind Edition सार्वजनिक गरेको छ, जसमा मोबाइललाई चिसो राख्नको लागि भित्रै एउटा सानो ‘टर्बोफ्यान’ (पंखा) राखिएको छ।
यो नयाँ प्रविधिका कारण अब मोबाइलमा भारी गेमहरू खेल्दा वा धेरै काम गर्दा फोन तात्ने समस्या पूर्ण रूपमा हट्ने दाबी गरिएको छ। १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको यो फोनको मूल्य चीनमा करिब १,२३० अमेरिकी डलर (करिब १ लाख ६४ हजार नेपाली रुपैयाँ) बाट सुरु हुन्छ।
कसरी काम गर्छ यो पंखाले?
हुवावेले यो फोनको पछाडि पट्टि एउटा क्यामेरा हटाएर त्यसको ठाउँमा यो विशेष पंखा जडान गरेको छ। पंखाले हावा ओहोरदोहोर गराउन सकोस् भनेर फोनको पछाडिको भागमा लेजरले कुँदिएका १,२०० भन्दा बढी साना प्वालहरू बनाइएका छन्।
अचम्मको कुरा के छ भने, भित्र पंखा र बाहिर प्वालहरू भए तापनि यो फोन पूर्ण रूपमा पानी र धुलो प्रतिरोधी (IP68/IP69 रेटिङ) रहेको छ।
कम्पनीका अनुसार यो कुलिङ सिस्टमका कारण फोनमा रहेको शक्तिशाली ‘किरिन ९०३० प्रो’ (Kirin 9030 Pro) चिपसेटले उच्च प्रदर्शन दिनेछ। गेमरहरूले अब ‘रे ट्रेसिङ’ जस्ता उच्च ग्राफिक्स भएका गेमहरू पनि स्थिर ९०fps (फ्रेम प्रति सेकेन्ड) मा बिना कुनै अवरोध खेल्न सक्नेछन्। यो पंखा थपिँदा फोनको तौलमा मात्र ०.३ ग्राम वृद्धि भएको हुवावेले जनाएको छ।



