काठमाडौँ — भदौ २३ गतेको घटनामा अनुसन्धानका लागि शनिबार पक्राउ परेका तत्कालीन गृहमन्त्री रमेश लेखक लाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनलाई अदालतमा पेश गर्न नसकिएको र आज आवश्यक प्रक्रिया पूरा गरी अदालत लगिने प्रहरीले जनाएको छ। हाल उनलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा राखिएको छ, जहाँबाट कानुनी प्रक्रिया पुर्याएर अदालत पठाइनेछ।
जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँका कारण मानवीय क्षति भएको आरोपमा त्यतिबेला गृह मन्त्रालयको नेतृत्व गरेका लेखकविरुद्ध जाँचबुझ आयोगले ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनलाई पक्राउ गरिएको हो।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो, जसअनुसार सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।



