काठमाडौँ — काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वर पौडेल ले पछिल्लो राजनीतिक घटनाक्रमपछि उत्पन्न हुन सक्ने कुनै पनि अप्रिय अवस्था रोक्न स्थानीय प्रशासन पूर्ण रूपमा सतर्क रहेको बताएका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै उनले हिंसात्मक तथा अशान्तिपूर्ण गतिविधि नियन्त्रण गर्न प्रशासन कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारे।
प्रजिअ पौडेलले प्रशासनले राजनीतिक विषयमा हस्तक्षेप नगर्ने तर सरकारले दिएको प्रशासनिक तथा पेशागत जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्ने बताए। शनिबार भएका प्रदर्शन र झडपबारे सूक्ष्म अध्ययन भइरहेको उल्लेख गर्दै उनले गैरकानुनी तथा अराजक गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए।
साथै, उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमपूर्ण सूचना फैलिन सक्ने भएकाले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। सुरक्षाकर्मीहरूलाई पनि कर्तव्य निर्वाहका क्रममा संयमित रहन निर्देशन दिइएको र फिल्डको अवस्थाबारे प्रशासन निरन्तर अपडेट रहेको जानकारी उनले दिए।
यसैबीच, एमालेको सचिवालय बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले बुझाएको विरोध पत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीतका कदम सच्याउन माग गरिएको छ। पार्टीले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
जवाफमा प्रजिअ पौडेलले शान्ति सुरक्षा कायम राख्नु प्रशासनको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै स्थिति सामान्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।



