काठमाडौं — रवि लामिछाने ले आफ्नो दललाई काम गर्न कुनै ‘हनिमुन पिरियड’ आवश्यक नभएको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले आफूहरू दिन होइन, सेकेन्ड गनेर काम सुरु गरिसकेको बताए।
उनले विगतका सरकारहरू पारदर्शिता र जवाफदेहिताको अभावका कारण प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै आफूहरू इतिहासबाट सिकेर परिणाममुखी काम गर्न आएको बताए। साथै, प्रतिपक्षी दलहरूलाई २४ सै घण्टा निगरानी गर्न र गल्ती भए सच्याइदिन आग्रह गरे।
लामिछानेले आफ्नालाई जोगाउन र विपक्षीलाई फसाउन कानुन संशोधन गर्ने वा अध्यादेश ल्याउने प्रवृत्ति अन्त्य गरिने स्पष्ट पारे। आस्थाका आधारमा विभेद नहुने र कसैलाई अन्यायपूर्वक फसाइने काम नहुने प्रतिबद्धता व्यक्त गरे।
‘सुशासनको वेग रोकिने छैन, न्याय पाउने हक सहिद र आमाको हो, यसलाई प्रतिशोध भन्न पाइने छैन,’ उनले भने।
उनले राजनीतिक सिफारिसमा नियुक्ति लिएका पदाधिकारीलाई स्वेच्छाले मार्गप्रशस्त गर्न अपिल गर्दै निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्ने प्रयास गरे। बिचौलिया र माफियाका कारण बिग्रिएको व्यावसायिक वातावरण सुधार गरिने उल्लेख गर्दै उनले भने, ‘नीतिहरू अब बजारमा बेचिँदैनन्, निर्णयहरू कसैको दबाबमा बन्ने छैनन्।’
स्वदेशी तथा विदेशी लगानीकर्तालाई कानुनी र राजनीतिक सुरक्षा दिने ग्यारेन्टी गर्दै उनले समान अवसर, पारदर्शिता र व्यावसायिक स्वतन्त्रता सुनिश्चित गरिने बताए।
सम्बोधनका क्रममा उनले दलित समुदायमाथि भएको ऐतिहासिक विभेदप्रति सदन र सरकारको तर्फबाट माफी माग्दै छुवाछुतलाई ‘संगठित अपराध’ को संज्ञा दिए। साथै, महिलालाई अवसरबाट वञ्चित गरिएकोमा क्षमायाचना गर्दै शिक्षा, रोजगारी र राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
‘कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन, महिलाविरुद्धका हिंसामा शून्य सहनशीलता अपनाइनेछ,’ उनले घोषणा गरे।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानको उच्च सम्मान गर्दै उनले उनीहरूको समस्या समाधानलाई प्राथमिकता दिने बताए। श्रम माफिया र बिचौलियामाथि कडाइका साथ कारबाही गरिने चेतावनी दिँदै उनले भने, ‘खाडी मुलुकमा जाने हाम्रा राजदूत अब बिचौलियासँग होइन, श्रमिकका शिविरमा देखिनेछन्।’
उनले विदेशमा रहेका युवालाई नेपाल फर्किएर आर्थिक विकासमा योगदान दिन पनि आह्वान गरे।
छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्धमा सन्तुलित, पारदर्शी र राष्ट्रहितमा आधारित नीति अवलम्बन गरिने उल्लेख गर्दै उनले प्रतिपक्षीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
अन्त्यमा, उनले संसद र सरकार जनताको भएको उल्लेख गर्दै समृद्धि, जीवनस्तर सुधार र न्यायपूर्ण समाज निर्माण नै आफ्नो मुख्य लक्ष्य रहेको बताए।



