पोखरास्थित फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङ ले आफू ठगिएको दाबी गर्दै कानुनी प्रक्रियामा जाने बताएका छन्।
यो विषय तब चर्चामा आयो जब धनराज आचार्य ले फेवातालको ६५ मिटर मापदण्डभित्र पर्ने क्षेत्रमा गुरूङको करिब २० रोपनी जग्गा रहेको जानकारी सार्वजनिक गरे। उनले गृहमन्त्रीले “आफ्नै जग्गा परे पनि अतिक्रमण हटाउनुस्” भनेको बताएका थिए।
तर गृहमन्त्री गुरूङले उक्त जग्गा आफ्नो नभई व्यवसायिक प्रयोजनका लागि भाडामा लिएको स्पष्ट पारेका छन्। उनका अनुसार जग्गाधनीले मापदण्डभित्र पर्ने अतिक्रमित जग्गा भएको तथ्य लुकाएर आफूलाई झुक्याएका हुन्।
गुरूङले भने, भाडामा लिएपछि मात्र उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्ने कुरा थाहा पाएको र त्यसपछि नै नैतिक आधारमा सबै निर्माण तथा लगानी रोकिएको थियो। “हामीलाई ठगी गरिएको छ, त्यसविरुद्ध कडाभन्दा कडा कानुनी उपचार खोज्नेछौं,” उनले बताए।
उनका अनुसार करिब ८–१० वर्षअघि ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले तीन युवा उद्यमी मिलेर उक्त परियोजना अघि बढाइएको थियो। त्यसबेला जग्गाधनीहरूले उक्त क्षेत्र मापदण्डबाहिर रहेको भन्दै विश्वास दिलाएका थिए।
यता मेयर आचार्यका अनुसार गृहमन्त्रीले देखाएको जग्गा केवल मापदण्डभित्र मात्र नभई दूषित रूपमा दर्ता भएको पनि खुलेको छ। सर्वोच्च अदालतको आदेशअनुसार त्यस्ता जग्गाको दर्ता खारेज हुने र मुआब्जासमेत नपाइने उनले जानकारी गराएका छन्।
मेयर आचार्यका अनुसार गृहमन्त्री गुरूङ यस विषयमा पनि सहमत देखिएका छन्।



