काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।
सभामुख डोलप्रसाद अर्यालले भदौ १ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गरेका थिए। सोहीअनुसार आज प्रधानमन्त्री र सांसदहरूबीच प्रश्नोत्तर कार्यक्रम हुने भएको हो।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि विभिन्न दलका ११ जना सांसदले प्रश्न टिपाएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समीक्षा बाँस्कोटा, अमेरशकुमार सिंह र कृष्णहरि बुढाथोकीले प्रश्न दर्ता गराएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र गीता गुरुङले प्रश्न सोध्नेछन्।
त्यस्तै विपक्षी नेकपा एमालेका ऐनबहादुर महर र गणेश सिंह ठगुन्नाले प्रधानमन्त्री शाहलाई प्रश्न गर्नेछन्। नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र प्रमेश हमाल तथा श्रम संस्कृतिका संसदीय दलका नेता हर्क साम्पाङले पनि प्रश्न टिपाएका छन्। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले समेत प्रधानमन्त्रीलाई प्रश्न गर्नेछिन्।
बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने कार्यसूची रहेको छ।



