काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई पार्टीको पूर्ण साथ रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार मध्यराति सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै लेखेको स्ट्याटसलाई लक्षित गर्दै सांसद झाले सरकारमा कोही पनि एक्लो नरहेको बताएका हुन्।
झाले एक्समा लेखेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौं।’
प्रधानमन्त्री शाहले आफ्नो स्ट्याटसमा आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै परिस्थितिअनुसार कहिलेकाहीँ एक्लै लड्नुपर्ने बताएका थिए।
त्यसको जवाफमा झाले सरकारको नियत र आशयप्रति आफूलाई शङ्का नरहेको स्पष्ट पारेका छन्। यद्यपि, सरकारका केही पक्षमा सुधार आवश्यक रहेको उनको भनाइ छ।
‘हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्,’ झाले भनेका छन्।
ऐतिहासिक अवसरलाई खेर जान नदिन आफूहरू सरकारलाई निरन्तर सजग गराइरहने उनले बताएका छन्। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै झाले आफू सरकारको साथमा रहेको समेत स्पष्ट पारेका छन्।
‘यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उनले लेखेका छन्।



