काठमाडौं, २४ असार — प्रधानमन्त्री बालेन शाहले आज निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाका प्रतिनिधिहरूसँग पहिलो पटक औपचारिक छलफल गर्ने भएका छन्।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफलका लागि बोलाएका हुन्।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू सहभागी हुनेछन्। व्यवसायीहरूका अनुसार प्रधानमन्त्री कार्यालयबाट छलफलका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रका धारणा सुन्न र समसामयिक विषयमा संवाद गर्न छलफल बोलाएको जानकारी दिए।
निजी क्षेत्रका अनुसार बैठकमा सरकारका हालसम्मका काम, आर्थिक नीति, निजी क्षेत्रलाई दिइएको प्राथमिकता, लगानीको वर्तमान अवस्था तथा उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि प्रधानमन्त्रीका सल्लाहकार अशिम साहले संविधान संशोधनलगायत विषयमा निजी क्षेत्रसँग प्रारम्भिक संवाद गरेका थिए।



