काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीले महिनाको पहिलो साता संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर प्रधानमन्त्री शाह निर्वाचित भएयता उक्त व्यवस्थाअनुसार प्रश्नोत्तरमा सहभागी भएका छैनन्। प्रधानमन्त्रीले लगातार संसदमा उपस्थित भएर जवाफ नदिएपछि सभामुखले रुलिङ गर्नुपरेको हो।
प्रधानमन्त्री शाहले २०८३ जेठ १७ गते आकस्मिक रूपमा सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाफ दिएका थिए। तर उक्त प्रश्नोत्तर प्रतिनिधि सभा नियमावलीअनुसार नभएको बताइएको छ। नियमावलीअनुसार सभामुखले प्रश्नोत्तरको मिति तोकेपछि सांसदहरूले प्रश्न टिपाउनुपर्ने र त्यसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्ने व्यवस्था छ।
जेठ १७ गतेको कार्यक्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने तथा भनाइलाई संसदको अभिलेखबाट हटाउनुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे ७७ दिनदेखि प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका थिए। संसदको बैठकमा दैनिकजसो आधा घण्टादेखि ४० मिनेटसम्म उक्त विषय उठे पनि प्रधानमन्त्री शाहले संसदमा उपस्थित भएर जवाफ दिएका थिएनन्।
यसबीच सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई तीन पटक भेटेर संसदमा उपस्थित हुन आग्रह गरेका थिए। जेठ ७ गते, साउन १३ गते र साउन २६ गते सभामुख प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए। सभामुखका अनुसार प्रधानमन्त्री शाहले ‘उपयुक्त समयमा आउने’ मात्र बताएका थिए।
प्रधानमन्त्रीको उपस्थितिको टुंगो नलागेकाले सभामुखले नियमावलीअनुसार प्रश्नोत्तरको मिति समेत तोक्न सकेका छैनन्। तर विपक्षी दलहरूको निरन्तरको विरोध अन्त्य गर्न सभामुखले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
सभामुखको रुलिङपछि विपक्षी दलहरूले संसदमा गर्दै आएको विरोध रोकेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेपछि सांसदहरू आफ्नो सिटमा बसेका थिए।
विपक्षी दलका शीर्ष नेताहरू बैठकमा उपस्थित नभएको अवस्थामा रास्वपाका सभापति तथा सांसद रवि लामिछाने, दलका उपनेता गणेश पराजुली, महामन्त्री तथा सांसद विपिन आचार्यलगायत बैठकमा उपस्थित थिए। सभामुखले रुलिङ गरेपछि सांसद विपिन आचार्यले प्रतिनिधि सभा नियमावली पल्टाएर हेरेका थिए भने रवि लामिछानेले दलका उपनेता पराजुलीसँग छलफल गरेका थिए।
सभामुखले रुलिङ गर्दा प्रधानमन्त्री शाह भने प्रतिनिधि सभाको बैठकमा उपस्थित थिएनन्। शाह अहिलेसम्म प्रतिनिधि सभाका ६ वटा बैठकमा मात्र सहभागी भएका छन्।
सभामुखको रुलिङसँगै ७७ दिनदेखि जारी विपक्षी दलहरूको संसद अवरोध अन्त्य भएको छ। यद्यपि प्रधानमन्त्री शाहले नियमावलीअनुसार प्रश्नोत्तरका लागि संसदमा कहिले उपस्थित हुने भन्ने मिति अझै तय भएको छैन।



