काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका छन्।
नवौं हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम डब्लुआइओएनसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देशसँगै भ्रमणको निम्ता आएको र त्यसलाई स्वीकार गरिएको जानकारी दिए।
उनका अनुसार भ्रमणको मिति र समय भने अझै तय भएको छैन। ‘प्रधानमन्त्रीज्यूले निमन्त्रणा स्वीकार गरिसक्नुभएको छ, अब मिति र समय सम्बन्धित संयन्त्रहरूले निर्धारण गर्नेछन्,’ उनले भने।
मन्त्री खनालले चुनावपछि प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहसँग संवाद गरेको सन्दर्भ पनि उल्लेख गरे। त्यसयता दुई देशबीच विभिन्न तहमा संवाद जारी रहेको उनले बताए।
मौरिससमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको जानकारी दिँदै उनले नयाँ सरकारका प्राथमिकताका आधारमा आगामी उच्चस्तरीय भ्रमण अघि बढाउने समझदारी बनेको बताए।
नेपाल–भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र रहेको उल्लेख गर्दै उनले पहिले आन्तरिक प्राथमिकता तय गरेर मात्रै भ्रमणलाई अगाडि बढाइने बताए।
यता, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले भने भारत भ्रमणबारे औपचारिक जानकारी दिएको छैन। प्रधानमन्त्री सचिवालयले समेत यसबारे आफूहरू अनभिज्ञ रहेको जनाएको छ।



