काठमाडौं, असार १५ — मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वामपन्थी दलहरूबीच सहकार्य र एकताको विषय प्रमुख रूपमा उठेको छ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा सहसंयोजक माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकै मञ्चमा उपस्थित थिए।
सम्बोधनका क्रममा नेकपा संयोजक प्रचण्डले संसददेखि आगामी निर्वाचनसम्म वाम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रमपछि सञ्चारकर्मीहरूले वाम एकताको नेतृत्वबारे प्रश्न गर्दा पूर्वराष्ट्रपति भण्डारीले तत्काल स्पष्ट जवाफ दिन चाहिनन्। “त्यसबारे पछि छलफल गर्नुपर्छ,” भन्दै उनले नेतृत्व लिन तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा पनि सोही प्रतिक्रिया दोहोर्याइन्।
यसअघि आफ्नो सम्बोधनमा भण्डारीले एक निर्वाचनको परिणामका आधारमा समग्र कम्युनिस्ट आन्दोलनको मूल्यांकन गर्न नहुने बताएकी थिइन्। उनले हालै नेकपा एमालेको सदस्यता पनि नवीकरण गरेकी छन्।
पछिल्लो समय एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच राजनीतिक संवाद बढेको तथा कार्यगत एकताको सम्भावनाबारे दुवै पक्षका केही नेताहरूले सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै आएका छन्।



