काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
चौधरीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना दिएका छन्।
देशले अहिले युवा नेतृत्व खोजिरहेको भन्दै उनले कांग्रेसले युवालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएका छन्। आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई अघि बढाएर मुलुकको आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाइ छ।
चौधरीले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गरे पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गरेका छन्। अब आर्थिक रूपान्तरणमा ढिलाइ गर्न नहुने उनले बताएका छन्।
उनले कांग्रेस सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको पनि उल्लेख गरेका छन्।
२०४८ देखि २०५१ सालसम्म कांग्रेस नेतृत्वमा अघि बढाइएको आर्थिक सुधारलाई ऐतिहासिक र दूरगामी महत्त्वको भन्दै चौधरीले उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारको यात्राबाट सिकेर नयाँ सोच र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्ने बताएका छन्।
उनले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाका आकांक्षा पूरा गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्नका लागि भएको बताएका छन्। चौधरीले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र मतका लागि अपिलसमेत गरेका छन्।



