काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल विशेष अदालतबाट साधारण तारेखमा छुटेका छन्।
शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो। उनी साउन २८ गतेको तारेख लिएर अदालतबाट बाहिरिएका छन्।
अदालतले प्रारम्भिक चरणमा प्राप्त प्रमाणका आधारमा पौडेलको प्रत्यक्ष सम्बन्ध वा संलग्नता पुष्टि हुन नसकेको, उनले आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएको तथा सहप्रतिवादी दीपक भट्टको आर्थिक कारोबारबाट पौडेलले कुनै सम्पत्ति वा लाभ लिएको देखिने प्रमाण तत्काल नदेखिएको उल्लेख गरेको छ।
यही आधारमा विशेष अदालत ऐन, २०५९ को दफा ७(ग) अनुसार उनलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश भएको अदालतले जनाएको छ।
अब मुद्दामा थप प्रमाण परीक्षण र सुनुवाइको प्रक्रिया जारी रहनेछ भने अन्तिम फैसला अदालतले पछि गर्नेछ।



