सुनसरी र सिराहाका प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा

काठमाडौं । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शववाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णयसमेत गरेको छ।

यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

सरकारले यी निर्णयहरू मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरेको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin