काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार दायर गरेको आरोपपत्रमा पूर्वमन्त्री कार्की, पूर्वसचिव, उच्च सरकारी अधिकारी तथा चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिलाई प्रतिवादी बनाउँदै ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको जनाएको छ।
आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा भएको मूल खरिद सम्झौतामा निर्माण लागतभित्र कर, महसुल तथा अन्य शुल्क समावेश गरिएको थियो। सम्झौताअनुसार ती कर तथा शुल्क निर्माण कम्पनीले नै नेपाल कानुनबमोजिम तिर्नुपर्ने व्यवस्था थियो।
तर राष्ट्रसेवक कर्मचारी र निर्माण कम्पनीबीच मिलेमतो गरी मूल सम्झौताविपरीत कार्यान्वयन सम्झौता तयार पारिएको र त्यसमार्फत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिइएको अख्तियारको आरोप छ। आयोगका अनुसार कम्पनीले निर्माण लागतभित्र समावेश भइसकेको करसमेतको रकम भुक्तानी लिए पनि राज्यकोषमा दाखिला गर्नुपर्ने कर नतिरी दोहोरो लाभ लिएको देखिएको छ।
अख्तियारले यस कार्यबाट नेपाल सरकारले ऋणस्वरूप प्राप्त सार्वजनिक सम्पत्तिमध्ये ३ अर्ब ६२ करोडभन्दा बढी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग भएको निष्कर्ष निकालेको छ।
प्रकरणमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कैद, बिगो बराबर जरिवाना, बिगो असुलउपर तथा थप सजायको माग गरिएको छ।
यस्तै तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र डण्डुराज घिमिरेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशक सञ्जीव गौतम, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मिला भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले चिनियाँ निर्माण कम्पनी, कम्पनीका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङविरुद्ध पनि मुख्य कसुरदारसरह सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।



