केपी शर्मा ओलीलाई सम्मानजनक बिदाइको प्रस्तावसहित नयाँ शक्ति सन्तुलनको संकेत

काठमाडौं — नेकपा एमालेभित्र नेतृत्व पुनर्गठनको बहस तीव्र बन्दै गएको छ। पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच नयाँ समझदारी बन्ने संकेत देखिएको स्रोतहरूको दाबी छ।

पार्टीका एक पदाधिकारीका अनुसार दुवै नेताबीच अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा बिदाइ गर्ने र संगठनलाई नयाँ ढाँचामा पुनर्गठन गर्ने विषयमा गम्भीर छलफल भएको छ। उनीहरू छिट्टै साझा निष्कर्षमा पुग्न सक्ने सम्भावना बढ्दै गएको बताइएको छ।

पौडेलनिकट स्रोतले पनि महासचिव पोखरेल नेतृत्व पुनर्गठनप्रति सकारात्मक बनेको दाबी गरेको छ। उनका अनुसार पछिल्ला संवादहरूमा पोखरेलले पार्टीभित्र नयाँ नेतृत्व आवश्यक रहेको संकेत दिएका छन्।

यसबीच चैत २० गतेको सचिवालय बैठकलाई पनि यो समझदारीको संकेतका रूपमा हेरिएको छ। सो बैठकमा नेता रामबहादुर थापाले संसद्मा दिएको अभिव्यक्तिपछि उत्पन्न विवाद समाधान गरिएको थियो। थापाले विजयमा बाह्य संस्थाहरूको भूमिकाबारे दिएको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष पौडेलले तत्काल बैठक बोलाउन माग गरेका थिए।

पछि बसेको सचिवालय बैठकले उक्त अभिव्यक्ति सच्याउँदै राज्यका सबै अंग तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध मित्रवत रहने स्पष्ट पारेको थियो। सो निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव पोखरेलले सन्तुलित धारणा राखेका थिए।

बैठकमा पनि पोखरेलले ‘जनादेशको सम्मान हुनुपर्छ’ भन्ने धारणा राख्दै विवाद समाधानमा सक्रिय भूमिका खेलेको बताइएको छ। यसले पार्टीभित्र नयाँ शक्ति सन्तुलनको संकेत गरेको विश्लेषण गरिएको छ।

यस घटनाक्रमसँगै एमालेभित्र संस्थापन समूहभित्रैबाट नेतृत्व परिवर्तनको आवाज बलियो बन्दै गएको देखिन्छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card