काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय उपकरण फरेन्सिक जाँचका लागि पठाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार राति प्रसाईंको घरमा खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभी रेकर्डिङ डिभाइस नियन्त्रणमा लिएको जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका ती उपकरणलाई प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा फरेन्सिक परीक्षणका लागि पठाइएको हो।
‘भक्तपुर परिसरमा विचाराधीन मुद्दाको अनुसन्धानका लागि ती डिभाइसहरू नियन्त्रणमा लिइएका हुन्,’ उनले भने, ‘फरेन्सिक जाँचका लागि प्रयोगशाला पठाएका छौं।’
तर प्रसाईंमाथि कुन कसुरसम्बन्धी अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले अनुसन्धानका लागि मोबाइललगायत सामग्री नियन्त्रणमा लिइएको पुष्टि गरे पनि मुद्दाको प्रकृति खुलाउन अस्वीकार गरे।
उनले अनुसन्धानका क्रममा बरामद सामग्रीबाट अन्य कुनै विषय खुलेमा थप कसुरको अनुसन्धानसमेत हुन सक्ने संकेत गरेका छन्।
प्रहरीले प्रसाईंलाई यसअघि पनि विभिन्न घटनामा पटक–पटक पक्राउ गर्दै आएको छ।



