काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रभित्र कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रसाईंले मुगुका गणेश नेपालीको आत्मदाह घटनाको विषयमा न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। उनले विमानस्थलबाटै पत्रकार सम्मेलन गरी घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्न खोजेका थिए।
तर विमानस्थलजस्तो संवेदनशील तथा निषेधित क्षेत्रमा कार्यक्रम गर्न अनुमति नभएको भन्दै प्रहरीले उनलाई रोक लगाएको थियो। त्यसपछि सुरक्षाको कारण देखाउँदै उनलाई नियन्त्रणमा लिएर घर पुर्याइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता भट्टराईका अनुसार प्रसाईंलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने उद्देश्य नभई निषेधित क्षेत्रमा कार्यक्रम गर्न नदिने क्रममा नियन्त्रणमा लिइएको हो।
पछिल्लो समय गणेश नेपालीले काठमाडौंस्थित राहदानी विभाग अगाडि गरेको आत्मदाह प्रयास र त्यसपछि उनको मृत्यु भएको घटनालाई लिएर विभिन्न पक्षबाट सरकारसँग छानबिन र न्यायको माग भइरहेको छ। यही विषयमा प्रसाईंले आफ्नो धारणा राख्न विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेका थिए।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो।



