तीनै तहको समन्वयबाट मात्रै शिक्षा क्षेत्रको सुधार सम्भव : मन्त्री पोखरेल

कैलाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको विकास र सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

धनगढीमा आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियासम्बन्धी प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले तीनै तहका सरकारबीच समान बुझाइ र सहकार्यबाट मात्रै शिक्षामा अपेक्षित सुधार ल्याउन सकिने बताए।

उनले प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिने उल्लेख गरे। शिक्षा नियमावलीको १०औँ संशोधन तथा प्रचलित ऐन–कानुनले गरेका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै तह मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

मन्त्री पोखरेलले शिक्षा ऐन, नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित सबै सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्नेमा समेत जोड दिए। संवाद र सहकार्यबाटै शिक्षा क्षेत्रका समस्या समाधान गर्न सकिने उनले बताए।

कार्यक्रममा शिक्षा विभागका निर्देशक रणप्रसाद न्यौपानेले प्रदेश, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय एकाइ (ईडीसीयू) बीच शिक्षा क्षेत्रसँग सम्बन्धित नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको जानकारी दिए।

अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा प्रशिक्षण दिइनेछ। शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था, कार्यक्रमसँग सम्बन्धित सूचक तथा बजेट निकासाबारे समेत जानकारी दिइने आयोजकले जनाएको छ।

त्यस्तै, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना, वार्षिक कार्ययोजना तथा बजेट निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइनेछ। यसबाट स्थानीय तहले स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग जोड्न सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा त्यसबाट प्राप्त तथ्यांकको उपयोग, शिक्षा क्षेत्रका विभिन्न मापदण्ड तथा नीतिका विषयमा समेत छलफल गरिनेछ।

तीनदिने अभिमुखीकरणमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin