काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न तथा डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखि उठ्न बाँकी बक्यौता असुल गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले सुरु गरेको हस्ताक्षर अभियान जारी राखेको छ।
पार्टीले बुधबार पनि सङ्घीय राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियानलाई निरन्तरता दिएको हो।
सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको जनाएको छ। अभियानका क्रममा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भए पनि सरकारले जलविद्युत्लाई समृद्धिको आधारका रूपमा विकास गर्नुको सट्टा जनतामाथि थप आर्थिक भार थोपरेको आरोप लगाए।
पार्टीले विद्युत् महसुलमा लगाइएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी रहेको महसुल असुल गर्न सरकारले तदारुकता देखाउनुपर्ने माग गरेको छ।
सरकारलाई पटक–पटक सुझाव दिँदा पनि मागको सुनुवाइ नभएकाले दबाब सिर्जना गर्न सडकमा उत्रिनुपरेको पार्टीको भनाइ छ।
कार्यक्रममा अवस्थीले जलविद्युत् नेपालको समृद्धिको प्रमुख आधार हुनुपर्नेमा सरकारले उल्टै विद्युत् उपभोगमै करको भार बढाएको बताए।
उनले भने, ‘हामी जलस्रोतमा धनी छौँ र हाम्रो समृद्धिको मुख्य आधार नै जलविद्युत् हो भन्ने हाम्रो मान्यता छ। तर सरकारले यस क्षेत्रलाई उचित प्राथमिकता दिनुको साटो उल्टै विद्युत्मा भ्याट लगाएर सर्वसाधारणलाई मर्कामा पारेको छ।’
माइतीघरबाट सुरु भएको हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने पार्टीले जनाएको छ। जनतालाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारी निर्णयविरुद्ध व्यापक जनसमर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको अवस्थीले बताए।



