फ्याक्ट चेक: इरानले अमेरिकी ट्याङ्कर कब्जा गरेको खबर झुटो, पुरानो भिडियो प्रयोग गरी भ्रम फैलाइँदै!

काठमाडौँ — सामाजिक सञ्जालमा इरानले हर्मोज स्ट्रेटबाट एक अमेरिकी तेल ट्याङ्कर नियन्त्रणमा लिएको भन्दै भाइरल भइरहेको दाबी पूर्णतः निराधार र भ्रामक पाइएको छ। गत सोमबारदेखि ‘ब्रेकिङ न्यूज’ भन्दै फैलाइएको उक्त भिडियो वास्तवमा सन् २०१९ को जुलाईमा इरानले बेलायती झण्डावाहक जहाज कब्जा गर्दाको पुरानो दृश्य हो। रोयटर्सको तथ्य जाँच (Fact Check) ले अहिले इरानले कुनै पनि अमेरिकी जहाज कब्जा गरेको आधिकारिक पुष्टि नभएको स्पष्ट पारेको छ।

६ वर्ष पुरानो भिडियोको सहारामा फैलाइयो भ्रम

अहिले भाइरल भइरहेको भिडियोमा देखिने जहाजको नाम ‘स्टेना इम्पेरो’ (Stena Impero) हो, जसलाई इरानको रिभोलुसनरी गार्ड्सले ६ वर्षअघि समुद्री नियम उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। सन् २०१९ को सो घटना सोही वर्षको सेप्टेम्बरमा समाधान भइसकेको थियो। तर, हालैका दिनमा इरान र अमेरिकाबीच बढ्दो तनावलाई अवसर छोपेर केही प्रयोगकर्ताहरूले पुरानै फुटेजलाई नयाँ घटनाको रूपमा प्रस्तुत गरेका हुन्।

यद्यपि, अमेरिकी रक्षा सचिव पिट हेगसेथले मङ्गलबार तेहरानलाई चेतावनी दिँदै यदि कुनै सम्झौता नभए आगामी दिनमा द्वन्द्व अझ तीव्र हुने बताउनुभएको छ। तर, हालसम्म कुनै पनि अमेरिकी ट्याङ्कर इरानको कब्जामा परेको विश्वसनीय समाचार रिपोर्टहरू आएका छैनन्।

यसरी सामाजिक सञ्जालमा आउने अपुष्ट र उत्तेजित खालका सामग्रीहरूलाई शेयर गर्नुअघि आधिकारिक स्रोतबाट पुष्टि गर्नु जरुरी देखिएको छ। पुरानो भिडियोलाई नयाँ दाबीका साथ फैलाएर मानिसहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना गर्ने प्रयास भएको यस तथ्य जाँचले प्रमाणित गरेको छ।

💡 Bichardhara Fact Time

Tags:

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card