२३ असार, पाँचथर — युट्युब तथा अन्य सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह र उनको परिवारलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो। जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमा गालीगलौज गरेको आरोपमा पक्राउ परेपछि देशभर यसको विरोध भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
तर, सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी भिडियो, स्टाटस तथा अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ।



