१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले सुनसरीको देवानगञ्ज घटनापछि सरकारको भूमिकामाथि कडा प्रश्न उठाएका छन्। उनले संकटका बेला सरकार सामाजिक सञ्जालका स्टाटसमा मात्र सीमित नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्ने बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीले सबै राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित पक्षसँग समन्वय गरेर राष्ट्रिय एकताको वातावरण बनाउनुपर्ने बताए।
थापाले भने, “सरकार कहाँ छ ? सरकार स्टाटसमा सीमित भयो। सरकार बन्दुकको गोली र लाठीमा मात्र देखिनु हुँदैन। प्रधानमन्त्री प्रधानमन्त्रीजस्तो बन्नुपर्यो।”
उनका अनुसार यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीले आफैं सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग छलफल गर्ने, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्ने र सरकारले गरिरहेका प्रयासबारे सबैलाई जानकारी गराएर विश्वासको वातावरण निर्माण गर्नुपर्थ्यो।
थापाले सरकार केवल अभिभावक मात्र नभई नेतृत्वकर्ता पनि भएकाले संकटका बेला सबै पक्षलाई विश्वासमा लिएर साझा समाधान खोज्नुपर्ने धारणा राखे। उनले भूकम्प र कोभिड–१९ महामारीका बेला राजनीतिक मतभेदका बाबजुद राष्ट्रिय संकटमा सबै दल एकजुट भएको उदाहरण दिँदै अहिले पनि त्यस्तै नेतृत्व आवश्यक रहेको बताए।
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव, सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु तथा त्यसपछिको सुरक्षा अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठाइएको छ।



