काठमाडौं । नेपाली कांग्रेसले राइडर गणेश नेपालीले बाध्य भएर आत्मदाहको प्रयास गरेको बताएको छ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले २५ वर्षीय नेपालीले राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नु राज्य व्यवस्थासँग जोडिएको विषय भएको बताइन्।
उनले संसद्मा यो विषय उठाउँदै २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटना स्मरण गराइन्।
त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका बालेन्द्र (बालेन) शाहले आचार्यको आत्मदाहलाई राज्यको नीति र व्यवस्थासँग जोडेर सामाजिक सञ्जालमा लेखेको भन्दै थापाले त्यसबेलाको अभिव्यक्ति स्मरण गराइन्।
‘प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झनु भएको छ कि बिर्सनुभयो प्रधानमन्त्रीज्यू?’ उनले प्रश्न गरिन्।
थापाले विगतमा प्रश्न उठाउने व्यक्ति अहिले सत्ताको नेतृत्वमा रहँदा गणेश नेपालीको घटनामा किन मौन रहेको भन्दै प्रधानमन्त्रीप्रति प्रश्न उठाएकी छन्।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा आफैंमाथि आगो लगाएका थिए। उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा उनको मृत्यु भएको हो।



