काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव तीन दिनदेखि उठ्न सकेको छैन। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको विषयमा भएको विवादपछि उनले आत्मदाह गरेको बताइएको छ। उक्त घटनाको भिडियोसमेत सार्वजनिक भएको छ, जसमा महानगर प्रहरीसँग विवाद भएको देखिन्छ।
आत्मदाह प्रयासबाट गम्भीर घाइते भएका नेपालीको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। तर सरकार र पीडित परिवारबीच सहमति हुन नसक्दा उनको शव अझै उठ्न सकेको छैन।
न्यायको माग गर्दै गणेशका दाजु मदन नेपाली र उनका आमाबुबा काठमाडौं आएका छन्। उनीहरूले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।
शनिबार रातिदेखि आइतबार बिहान ७ बजेसम्म सरकार पक्ष र परिवारबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ।
परिवारका अनुसार उनीहरूलाई बबरमहलस्थित सीडीओ कार्यालय नजिकको एक भवनमा राखिएको छ। बाहिरका व्यक्तिसँग सम्पर्क गर्न समेत नदिइएको गणेशका दाजु मदन नेपालीले बताएका छन्।
“हामीलाई बबरमहल राखिएको छ। बाहिर जान दिइएको छैन। सुरक्षा घेरामा राखिएको छ। छलफल गर्ने भनिएको छ,” उनले भने।
प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले आइतबार बिहान पीडित परिवारसँग भेट गरे पनि सहमति जुट्न नसकेको परिवारको भनाइ छ। प्रशासनले भने पुनः छलफल गर्ने तयारी भइरहेको जनाएको छ।
सरकार र पीडित परिवारबीच सहमति हुन नसकेकै कारण गणेश नेपालीको अन्त्येष्टिका लागि शव उठाउने प्रक्रिया रोकिएको छ।



