काठमाडौं । बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो। भारतबाट ग्यास आयातमा समस्या नरहे पनि बजारमा अभाव देखाएर महँगो मूल्यमा बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त भएपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी थिइन्।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई समस्यामा पार्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग प्रहरी परिचालन गरी अनुगमन गर्न आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको बिक्री–वितरण तथा मौज्दातबारे निगरानी भइरहेको गृह मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गरिने मन्त्रालयले जनाएको छ।
उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने सरकारको तयारी छ।



