दुई सांसद संसदमा उभिएपछि सभामुखको रुलिङ, ३ दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं । लामो समयदेखि संसदमा उठाउँदै आएको विषय सरकारले सम्बोधन नगरेको भन्दै दुई सांसद प्रतिनिधि सभा बैठकमा उभिएर विरोध गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूहरूले संसदमा उठाएको विषयमा सरकारले बेवास्ता गरेको भन्दै बैठकमै उभिएर विरोध जनाएका हुन्। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

रुकुम पश्चिमका सांसद शर्माले रुकुम, जाजरकोट र सल्यानका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। उनले साउन २२ गते सरकारलाई यस विषयमा जवाफ दिन नौ दिनको समय दिएका थिए।

तर तोकिएको अवधिमा पनि सरकारले जवाफ नदिएको भन्दै शर्माले जवाफ नआउन्जेल संसदमा उभिएर विरोध गर्ने बताएका थिए। सरकारलाई जवाफ दिन समय नै तोकेर सभामुखले रुलिङ नगरेसम्म आफू उभिइरहने उनको भनाइ थियो।

त्यसपछि सभामुख अर्यालले रास्वपा सांसद आशिका तामाङलाई बोल्न समय दिएका थिए।

तामाङले कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव लामो समयदेखि नेपाल ल्याउन नसकिएको विषय उठाइन्। आफूले ३७ दिनअघि नै संसदमा यसबारे बोले पनि सरकारले ध्यान नदिएको उनको आरोप थियो।

‘अर्थ मन्त्रालयले बजेट छुट्याएको छ तर परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश गर्न छाडे,’ उनले भनिन्, ‘विदेशमा अलपत्र भई मरेका आफ्ना नागरिकलाई कि राज्यले आफ्ना नागरिक होइनन् भनेर घोषणा गरोस्।’

आफूले उठाएको विषयमा सरकारले जवाफ नदिएसम्म संसदमा उभिइरहने तामाङले बताइन्।

दुवै सांसदले उठाएको विषयमा सभामुख अर्यालले सरकारलाई तीन दिनभित्र जवाफ दिन रुलिङ गरेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin