भारतीय सर्वोच्च अदालतको इजलासमा बसे प्रधानन्यायाधीश मनोजकुमार शर्मा

काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्माले भारतीय सर्वोच्च अदालतको सेरेमोनियल इजलासमा सहभागिता जनाएका छन्। शुक्रबार बिहान भारतीय प्रधानन्यायाधीश सूर्य कान्तसँगै विभिन्न देशका न्यायाधीशहरूसहित उनी विशेष इजलासमा बसेका हुन्।

भारतीय सर्वोच्च अदालतको औपचारिक भ्रमणका क्रममा आयोजित उक्त इजलासमा बेलायत, भुटान, ब्राजिल र केन्याका न्यायाधीशहरूको पनि सहभागिता रहेको थियो। भारतीय प्रधानन्यायाधीश सूर्य कान्तले इजलासमा उपस्थित विदेशी न्यायाधीशहरूको औपचारिक परिचय गराएका थिए।

भारतीय न्यायिक अधिकारीद्वारा स्वागत

भारतीय महान्यायाधिवक्ता आर. वेंकटरमणले प्रधानन्यायाधीश शर्मासहित विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध संस्कृति, परम्परा र कानुनी मूल्य–मान्यताको संगमस्थलका रूपमा वर्णन गरे। उनले कार्यक्रममा हुने अन्तरक्रियाले भारतको स्वदेशी विधिशास्त्रबारे पनि जानकारी दिने विश्वास व्यक्त गरे।

त्यस्तै, भारतका सोलिसिटर जनरल तुसार मेहताले भारतको विविधतालाई बुझ्न दुई दिनको भ्रमण पर्याप्त नहुने टिप्पणी गरे।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका विदेशी न्यायाधीशहरूलाई स्वागत गर्दै भारतीय न्यायपालिका अन्तर्राष्ट्रिय रूपमा अध्ययन र अनुकरणको विषय बनेको बताए।

यूएनसीआईटीआरएएलको वार्षिकोत्सव कार्यक्रममा सहभागिता

प्रधानन्यायाधीश शर्मा बिहीबार आफ्नी पत्नी उमा शर्मा र स्वकीय सचिव अमित उप्रेतीसँगै एयर इन्डियामार्फत भारत पुगेका थिए।

उनी भारतमा आयोजित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोग (UNCITRAL) को ६०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी भइरहेका छन्।

शुक्रबार साँझ हुने कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस. जयशंकर तथा भारतीय प्रधानन्यायाधीश सूर्य कान्तले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो अन्तर्राष्ट्रिय कार्यक्रम आइतबार सम्पन्न हुने छ भने प्रधानन्यायाधीश शर्माको नेतृत्वको नेपाली प्रतिनिधिमण्डल साउन ११ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin