काठमाडौं– काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा रायोको सागमा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा विषादी भेटिएको छ।
कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले मंगलबार बिहान गरेको परीक्षणमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ५०.०१६० प्रतिशत रहेको पाइएको हो। उक्त मात्रा स्वीकृत सीमाभन्दा बढी भएकाले नमुनालाई ‘विसर्जन गर्ने’ अर्थात् नष्ट गर्नुपर्ने श्रेणीमा राखिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाले कुल १२ वटा तरकारीका नमुनाको परीक्षण गरेको थियो। तीमध्ये रायोको साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेँडालगायतका नमुना समावेश थिए। रायोको सागबाहेक अन्य ११ वटा नमुनामा भने विषादीको मात्रा उपभोगयोग्य सीमाभित्र रहेको पाइएको छ।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी उपभोगका लागि सुरक्षित मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म विषादी देखिएमा केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मान्दै पूर्ण रूपमा नष्ट गर्नुपर्ने प्रावधान रहेको छ।
प्रयोगशालाले परीक्षण कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीमा मात्र केन्द्रित रहेको पनि स्पष्ट पारेको छ।



