भदौ २४ को हिंसा नवयुवाको आक्रोश होइन, योजनाबद्ध विध्वंस थियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र हिंसात्मक घटना नवयुवाको आक्रोशबाट नभई लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको परिणाम भएको आरोप लगाएका छन्।

भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आक्रमणलाई ‘योजनाबद्ध विध्वंस’ भनेका हुन्।

ओलीले उक्त घटनाको गहिरो छानबिन गरी शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थियो भन्ने तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरी मुद्दा चलाउने प्रयास भएको आरोप लगाउँदै सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदनसमेत गुपचुप राखिएको दाबी गरेका छन्।

भदौ २४ का विध्वंसका आरोपीलाई उन्मुक्ति दिइएको तथा उनीहरूमाथि सुरु भएका अनुसन्धान र अभियोजन रोकिएको भन्दै ओलीले यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको’ आरोप लगाए।

उनले राज्यका प्रमुख धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नसमेत उठाएका छन्।

ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार गर्न नहुनेमा जोड दिएका छन्। साथै, हिंसा र अराजकतालाई कुनै पनि नाममा वैधता दिन नहुने बताएका छन्।

यद्यपि, गत वर्षको आन्दोलनमा नवयुवाहरूले उठाएका मूल सरोकार गलत नभएको ओलीको भनाइ छ। नवयुवाहरूका अपेक्षा उचित भए पनि त्यसको लाभ अन्य तत्वहरूले उठाएको उनको दाबी छ।

उनले अहिले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानमाथि चुनौती बढिरहेको दाबी गर्दै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई सहकार्य गरेर अघि बढ्न आह्वान गरेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin