नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको अवधि एक वर्ष थप गर्ने तयारी भएको छ।
एमसीसी परियोजना पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था भए पनि अमेरिकी सहयोगको समीक्षाका कारण करिब सात महिना काम रोकिएको र प्राकृतिक विपद्का कारण पनि परियोजना प्रभावित भएकाले म्याद थप गर्न नेपाल र अमेरिका सहमति नजिक पुगेका हुन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार परियोजनाको लागत नबढ्ने गरी १२ महिनासम्म म्याद थप गर्ने तयारी भइरहेको छ। म्याद थपसम्बन्धी प्रस्ताव एमसीए–नेपालले अर्थ मन्त्रालयमा पठाइसकेको छ। त्यसपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र नेपाल सरकारको निर्णयपछि एमसीसीलाई औपचारिक जानकारी गराउने प्रक्रिया अघि बढ्नेछ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको अमेरिका भ्रमणका क्रममा एमसीसीका निमित्त उपाध्यक्ष जेसन स्मलसँग पनि परियोजनाको म्याद थप गरेर कामलाई सफल बनाउने विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि २० जनवरी २०२५ मा वैदेशिक सहायता पुनरावलोकन सुरु हुँदा नेपालमा एमसीसी परियोजनाको काम पनि प्रभावित भएको थियो। करिब सात महिनापछि परियोजनालाई निरन्तरता दिने निर्णय भएको थियो। यसबीच त्रिशूली नदीमा आएको बाढीले समेत निर्माण कार्यमा अवरोध पुर्याएको थियो।
नेपालमा एमसीसी कम्प्याक्ट १३ भदौ २०८० देखि कार्यान्वयनमा आएको हो। सम्झौताअनुसार पाँच वर्षभित्र परियोजना सम्पन्न नभए अनुदान फिर्ता जाने व्यवस्था छ। अमेरिकी २०२६ को विनियोजन कानुनले भने नेपालसहित केही मुलुकसँगको एमसीसी कम्प्याक्टको अवधि थप एक वर्षसम्म बढाउन सक्ने बाटो खुला गरेको छ।
नेपालमा एमसीसीअन्तर्गत प्रसारण लाइन, सबस्टेसन र सडक सुधारका आयोजना सञ्चालन भइरहेका छन्। हालसम्म १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ भने थप २९७ किलोमिटर प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका लागि ठेक्का लागिसकेको छ।
एमसीसीअन्तर्गत अमेरिकाले सुरुमा ५० करोड अमेरिकी डलर अनुदान दिने सम्झौता गरेको थियो। पछि थप ५ करोड डलर अनुदान थपिएपछि अमेरिकी सहयोग ५५ करोड डलर पुगेको छ। नेपाल सरकारले समेत आफ्नो योगदान बढाएपछि परियोजनाको कुल लागत ७४ करोड ७० लाख अमेरिकी डलर पुगेको छ।



