काठमाडौं, असार २३ — स्वास्थ्यमन्त्री निशा मेहता विरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो।
अधिकारीको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन्। उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।
अधिकारीका सहकर्मीका अनुसार उनी हेल्थ असिस्टेन्ट हुन् र निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए। हाल उनी लोकसेवाको तयारी गरिरहेका थिए। स्वास्थ्यमन्त्रीले गरेका कामबारे सामाजिक सञ्जालमा आलोचना गर्दै आएका कारण पक्राउ गरिएको हुनसक्ने उनीहरूको अनुमान छ।
अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो मसीले क्रस चिह्न लगाउँदै ‘माफिया मन्त्री’ भनेर पोस्ट गरेका थिए।
उनले अर्को स्टाटसमा मधेशका अस्पतालहरूमा गरिब नागरिकका लागि १० प्रतिशत बेड व्यवस्था कार्यान्वयन नभएको भन्दै मन्त्रीको आलोचना गरेका थिए। उनले स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिनसमेत माग गरेका थिए।
स्वास्थ्यकर्मीहरूको भनाइअनुसार उक्त फेसबुक पोस्टकै आधारमा साइबर ब्युरोमा उजुरी परेको हुनसक्ने र त्यसपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले भने पक्राउको कारण र कानुनी प्रक्रियाबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।



