काठमाडौँ । म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोपबारे अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले मनिष झाको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो। समितिका सदस्यमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन्। समितिलाई दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको पोसाक खरिदमा भ्रष्टाचार भएको आशंका व्यक्त गर्दै संसद् र सार्वजनिक लेखा समितिमा पटक–पटक प्रश्न उठाउँदै आएका थिए। उनले खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिए पनि फाइलको अवस्थाबारे समितिका सदस्यलाई जानकारी नगराइएको गुनासो गरेका थिए।
यस विषयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समितिमा उपस्थित भएर जवाफसमेत दिएका थिए।
अध्ययन समिति गठन गर्ने विषयमा भने समितिभित्र मतभेद देखिएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सम्बन्धित निकायका प्रमुखले दिएको जवाफ, प्राप्त प्रतिवेदन र उजुरीका आधार अध्ययन गरेपछि मात्रै थप छानबिन आवश्यक छ कि छैन भन्ने निर्णय गर्नुपर्ने बताइन्।
उनले सामाजिक सञ्जालमा आएका विवरण वा सुनेका कुरालाई मात्रै आधार बनाएर छानबिन समिति गठन गर्दा सम्बन्धित व्यक्तिलाई पहिल्यै दोषी ठहर गरेको सन्देश जान सक्ने भन्दै निष्पक्ष अध्ययनमा जोड दिइन्।
नेकपा एमालेका सांसद ऐन महरले भने प्रहरीजस्तो संस्थामाथि प्रश्न उठिसकेपछि त्यसको निरूपण आवश्यक रहेको बताए। आरोपबारे अध्ययन नगरी छाड्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उनको भनाइ थियो।
अध्ययन समितिले बुझाउने प्रतिवेदनका आधारमा खरिद प्रक्रियाबारे थप छानबिन आवश्यक छ कि छैन भन्ने निर्णय गर्न सकिने अपेक्षा गरिएको छ।



