काठमाडौं — नेपालकै पहिलो आधुनिक नागढुंगा सुरूङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र सञ्चालनका लागि आवश्यक अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ।
नागढुंगा सुरूङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार आपत्कालीन उद्धार सामग्री, जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण प्रणालीलगायत सञ्चालनसम्बन्धी व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन्।
उनका अनुसार सुरूङमार्गको पश्चिमतर्फ पहिरो जोखिम न्यूनीकरणका केही काम बाँकी रहे पनि त्यसले सञ्चालनमा कुनै असर नपार्नेछ। “साउनदेखि सञ्चालनमा ल्याउने तयारी छ, तर औपचारिक मिति भने अझै तय भएको छैन,” उनले बताए।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गते सुरु भएको थियो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनबीच ४२ महिनाभित्र आयोजना सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण निर्माणमा ढिलाइ भएको थियो। त्यसपछि पटक–पटक म्याद थपिँदै अन्ततः निर्माण सम्पन्न भएको हो।
भौतिक निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। त्यसपछि चिनियाँ संयुक्त उद्यम कम्पनी युक्सिन–एआरटीले सुरूङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्नेछ।
सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
मिनीबस तथा मिनी ट्रक/टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ रहनेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यो सुरूङमार्गले काठमाडौंको बलम्बु र धादिङको सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्नेछ। हाल करिब ८ किलोमिटर रहेको सिस्नेखोला–बलम्बु दूरी सुरूङमार्ग सञ्चालनपछि ५ किलोमिटरमा सीमित हुनेछ। यसबाट करिब २.८ किलोमिटर दूरी छोटिनेछ।
आयोजनाका अनुसार सुरूङमार्ग सञ्चालनपछि काठमाडौंतर्फ आउँदा करिब ३३ मिनेट र बाहिरिँदा २३ मिनेटसम्म यात्रा समय बचत हुनेछ। साथै, सिस्नेखोला–नागढुंगा खण्डमा दैनिक हुने सवारी जाम न्यूनीकरण हुनुका साथै इन्धन खपतमा पनि उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ।
आयोजनामा २.६८ किलोमिटर लामो मुख्य सुरूङ र २.५५७ किलोमिटर लामो उद्धार (रेस्क्यु) सुरूङ निर्माण गरिएको छ। दुवै सुरूङबीच सात स्थानमा क्रस–प्यासेज राखिएका छन्, जसबाट आपत्कालीन अवस्थामा उद्धार तथा दमकलका सवारी आवतजावत गर्न सक्नेछन्। सुरूङमा आधुनिक भेन्टिलेसन प्रणाली, जेट फ्यान तथा अग्नि सुरक्षा प्रणाली पनि जडान गरिएको छ।
आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब रुपैयाँभन्दा बढी सहुलियत ऋण उपलब्ध गराइसकेको छ। हालै थप ५.७ अर्ब जापानी येन (करिब ५.४७ अर्ब रुपैयाँ) सहुलियत ऋण दिने सम्झौता पनि भएको छ। उक्त ऋण १० वर्षसम्म ब्याज मिनाहासहित ४० वर्षभित्र भुक्तानी गर्ने व्यवस्था छ।
नेपाल र जापान सरकारबीच यस आयोजनाका लागि सहुलियत ऋण सम्झौता सन् २०१६ डिसेम्बर २२ मा भएको थियो भने बाँकी लगानी नेपाल सरकारले व्यहोरेको छ।



