अर्ग्यानिक कृषि प्रवर्द्धन गर्न सरकार तयार : प्रधानमन्त्री शाह

काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा अर्ग्यानिक कृषि क्षेत्रको विकास र विस्तारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार ‘अर्ग्यानिक एसोसिएसन नेपाल’ का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एसोसिएसनका पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक पर्ने प्रमाणीकरण प्रक्रिया निकै महँगो भएको भन्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने माग राखेका थिए।

उनीहरूले अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा सरकारले दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सञ्चालन गर्नुपर्ने माग पनि गरेका थिए। यसअघि यस्तो सहयोग बन्द भएको उनीहरूको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

उनले रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण गर्दै नेपालमा अर्ग्यानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा विभिन्न कृषि तथा चिया उद्योगका प्रतिनिधिहरूको सहभागिता थियो।

मुख्य बुँदाहरू:

  • प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि विकासमा सरकारी सहयोग गर्ने प्रतिबद्धता जनाए।
  • प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग र सहकारीलाई अनुदान दिन निर्देशन।
  • नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक प्रमाणीकरण संस्था स्थापना गर्न माग।
  • अन्तर्राष्ट्रिय प्रमाणीकरणमा दिइने ७५ प्रतिशतसम्म अनुदान पुनः सुरु गर्न आग्रह।
  • रासायनिक मल र विषादी नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्द्धन गर्ने सरकारको योजना।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin