काठमाडौं — अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्दै नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको पहिलो सय दिनको मूल्यांकन प्रतिबद्धता वा घोषणाले होइन, सरकारको कार्यदिशा र जनतासामु प्रस्तुत भएका वास्तविक परिणामका आधारमा हुनुपर्ने उल्लेख गरेका छन्।
हमालले अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको प्रभावबीच नेपालले आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने सुझाव दिएका छन्। सबै मुलुकसँग मित्रवत सम्बन्ध कायम राख्दै राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतामा कुनै असर पर्न नदिनुपर्ने उनको भनाइ छ।
हालैको आन्दोलनमा भएको हिंसा र आगजनीप्रति संकेत गर्दै उनले हिंसा लोकतान्त्रिक अभ्यासको माध्यम हुन नसक्ने बताएका छन्। लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक सम्मानका पात्र भए पनि कानुन उल्लंघन गर्ने जोसुकैलाई निष्पक्ष रूपमा कानुनी दायरामा ल्याउनुपर्ने उनले जोड दिएका छन्।
हमालले राष्ट्रको शक्ति संस्थागत सुदृढीकरण, विधिको शासन र दलगत स्वार्थभन्दा माथि राष्ट्रिय हितलाई प्राथमिकता दिनुमा रहेको उल्लेख गर्दै एकताबद्ध र विवेकशील नेपाल निर्माणका लागि सबैलाई आह्वान गरेका छन्



