रवीन्द्र मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।

सोमबार मृतक मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरूङबीच भएको वार्तामा मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो।

सहमति अनुसार साउन १० गते राति देवानगञ्ज–३ को कसानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम तत्काल कारबाही अघि बढाइनेछ।

यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ।

सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ।

त्यसैगरी, मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गरी दाहसंस्कारको व्यवस्थापन गर्ने सहमति भएको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin