नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, नौ महिनामै साढे २ खर्ब वृद्धि

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब र वैदेशिक ऋण १५ खर्ब ४५ अर्ब रहेको छ। चालु आर्थिक वर्षको सुरुवातमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब रहेकोमा नौ महिनामै झन्डै साढे २ खर्बले वृद्धि भएको देखिएको छ।

यस अवधिमा सरकारले ३ खर्ब ४८ अर्ब १५ करोड ऋण उठाएको छ। वार्षिक लक्ष्य ५ खर्ब ९५ अर्ब रहेकोमा हालसम्म ५८.४५ प्रतिशत मात्र ऋण संकलन भएको हो।

आन्तरिक ऋणतर्फ २ खर्ब ८३ अर्ब ६६ करोड उठाइएको छ, जुन लक्ष्यको ७८.३६ प्रतिशत हो। तर वैदेशिक ऋण संकलन अपेक्षाकृत कमजोर देखिएको छ। हालसम्म ६४ अर्ब ४८ करोड मात्र वैदेशिक ऋण उठाइएको छ, जुन लक्ष्यको २७.६० प्रतिशत मात्र हो।

विनिमय दरको उतारचढावले वैदेशिक ऋणमा थप दबाब सिर्जना गरेको छ। नेपाली रुपैयाँ कमजोर हुँदा मात्रै १ खर्ब १५ अर्ब ७५ करोड बराबरको अतिरिक्त भार थपिएको छ।

हाल नेपालको कुल सार्वजनिक ऋण जिडिपीको ४८.०४ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋण २२.७३ प्रतिशत र वैदेशिक ऋण २५.३१ प्रतिशत रहेको छ।

ऋणको साँवा र ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको छ। चालु आर्थिक वर्षका नौ महिनामा मात्रै २ खर्ब ५८ अर्ब ४४ करोड खर्च भइसकेको छ, जुन वार्षिक बजेटको ६२.८८ प्रतिशत हो।

आन्तरिक ऋणतर्फ साँवा भुक्तानी १ खर्ब ६३ अर्ब ७७ करोड र ब्याज भुक्तानी ४५ अर्ब ६० करोड रहेको छ। त्यस्तै, वैदेशिक ऋणतर्फ साँवा भुक्तानी ४० अर्ब ३९ करोड र ब्याज भुक्तानी ८ अर्ब ६७ करोड पुगेको छ।

यसरी कुल मिलाएर साँवा भुक्तानी २ खर्ब ४ अर्ब र ब्याज भुक्तानी ५४ अर्ब २७ करोड पुगेको छ, जसले सरकारी वित्तीय दबाब थप बढाएको संकेत गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin