काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४३.८९ अंकले घटेर २ हजार ५१३.४२ विन्दुमा बन्द भएको हो।
परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ३४७ वटा धितोपत्रका ९३ लाख २२ हजार १८५ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबार उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ७२५ रुपैयाँ पुगेको छ। त्यस्तै, घोराही सिमेन्टको सेयर मूल्य ७.५७ प्रतिशतले बढेर प्रतिकित्ता ३९८ रुपैयाँ कायम भएको छ।
यता मैलुङ खोलाको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले घटेर प्रतिकित्ता २७६ रुपैयाँ ३० पैसामा झरेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ६६४ रुपैयाँका दरले २६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशत बढेको हो।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा सर्वोत्तम पेन्टस् रहेको छ। कम्पनीको प्रतिकित्ता १ हजार २७६ रुपैयाँका दरले १५ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेका छन्। निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशतले घटेको छ।



