काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा बन्द भएको छ। यससँगै सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ।
बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस दिन ३५९ वटा धितोपत्रका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर कारोबार भएका छन्।
कारोबारमा सहभागी कम्पनीहरूमध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
बिहीबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अप्पर लोहोरे खोला हाइड्रोपावर र कालंगा हाइड्रोपावरको सेयर मूल्य १५–१५ प्रतिशतले बढेको छ। त्यसैगरी, स्नो रिभर्स हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत र सानिगाड हाइड्रोपावरको १४.९७ प्रतिशतले वृद्धि भएको छ।
यता, सर्वाधिक मूल्य घट्नेमा १० प्रतिशत एनआइसी एसिया डिबेन्चर २०८५/८६ रहेको छ। उक्त डिबेन्चरको मूल्य १०.६० प्रतिशतले घटेर प्रतिइकाइ १,१३० रुपैयाँमा झरेको छ। भुजुङ हाइड्रोपावरको सेयर मूल्य पनि ९.४३ प्रतिशतले घटेर प्रतिकित्ता ८१५ रुपैयाँ १० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको २२२ रुपैयाँ प्रतिकित्ताको मूल्यमा ४१ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १.३७ प्रतिशतले बढेको हो।
त्यसैगरी, १० प्रतिशत एनआइसी एसिया डिबेन्चर २०८५/८६ दोस्रो सर्वाधिक कारोबार हुने धितोपत्र बनेको छ। उक्त डिबेन्चरको १,१३० रुपैयाँ प्रतिइकाइका दरले ४० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने आठ समूहको घटेको छ। यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि भएको छ।



