काठमाडौं । नेपाली शेयर बजार पछिल्लो समय निरन्तर दबाबमा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ हजार ६ सय विन्दुको आसपासमा झरेसँगै बजार पछिल्लो ६ महिनायताकै न्यून स्तरमा पुगेको छ।
नयाँ सरकार गठनसँगै शेयर बजार सुधारका लागि नीतिगत पहल हुने अपेक्षा गरिए पनि लगानीकर्ताको उत्साह बढ्न सकेको छैन। बरु सरकार गठनपछि नै बजारमा लगातार गिरावट देखिएको छ।
सरकार गठनअघिको चैत १२ गते नेप्से परिसूचक २ हजार ९ सय ५०.१६ विन्दुमा पुगेको थियो। तर त्यसयता बजार ओरालो लाग्दै शुक्रबारसम्म आइपुग्दा नेप्से करिब ३५० अंक घटेर २ हजार ६ सय विन्दुको आसपासमा आइपुगेको छ।
यसअघि चैत ११ गते नेप्से २ हजार ९ सय ७० विन्दुसम्म पुगेको थियो। त्यसपछि भने बजारले निरन्तर दबाब सामना गर्दै आएको छ। गत पुस ९ गते नेप्से २ हजार ५ सय ९७ विन्दुमा बन्द भएको थियो। त्यसयता अहिलेको स्तरलाई ६ महिनायताकै न्यून अवस्था मानिएको छ।
बजेटपछि पनि आएन सुधार
सरकारले शेयर बजार सुधारका लागि बजेटमार्फत विभिन्न व्यवस्था गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेन।
लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पुँजीगत लाभ करलाई अन्तिम करका रूपमा कानुनी मान्यता दिने व्यवस्था बजेटमा समेटिएको थियो। साथै गैरआवासीय नेपालीको लगानी भित्र्याउने, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने लगायतका विषय पनि समावेश गरिएको थियो।
तर बजेट सार्वजनिक भएपछि बजार सुधार हुनुको सट्टा घट्ने क्रम जारी रह्यो। बजेटअघि जेठ १३ गते नेप्से २ हजार ७ सय ८२ विन्दुमा बन्द भएको थियो। बजेटपछि पहिलो कारोबार दिनमै नेप्से २६.७२ अंक घटेर २ हजार ७ सय ५५ विन्दुमा झरेको थियो।
बजेटपछि मात्रै नेप्से करिब ८६ अंक घटिसकेको छ।
मौद्रिक नीतिले पनि दिएन राहत
लगानीकर्ताले मौद्रिक नीतिबाट शेयर बजारका लागि थप सहज व्यवस्था आउने अपेक्षा गरेका थिए। तर नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बजारमा अपेक्षित उत्साह ल्याउन सकेन।
मौद्रिक नीतिमा शेयर धितो कर्जालाई कम्पनीको वित्तीय अवस्था र नेटवर्थका आधारमा विस्तार गर्ने व्यवस्था गरिएको छ। तर त्यसपछि बजारमा सकारात्मक प्रभाव देखिएन।
मौद्रिक नीति सार्वजनिक हुनुअघि नेप्से २ हजार ६ सय ५१ विन्दुमा थियो। त्यसपछि तीन कारोबार दिनमै परिसूचक ५१ अंक घटेर २ हजार ६ सय विन्दुको आसपासमा आएको छ।
लगानीकर्ताको मनोविज्ञान र बिक्री दबाब
विश्लेषकहरूका अनुसार बजार घट्नुमा नीतिगत विषयसँगै लगानीकर्ताको मनोविज्ञान र बिक्री दबाब पनि प्रमुख कारण बनेको छ।
असार मसान्त नजिकिँदै गर्दा लगानीकर्तालाई रकम व्यवस्थापन गर्नुपर्ने दबाब बढेको छ। साथै कमजोर कम्पनीको शेयर धितो राखेर कर्जा लिन कठिन हुने अवस्थाले पनि बजारमा असर परेको बताइएको छ।
नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ठूलो रहेकाले राष्ट्र बैंकका नीतिले बजारमा प्रत्यक्ष प्रभाव पार्ने विज्ञहरूको भनाइ छ।
पछिल्लो अवस्थाले बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर भएको देखाए पनि २ हजार ६ सय विन्दुको आसपास पुगेपछि केही लगानीकर्ताले नाफा सुरक्षित गर्न शेयर बिक्री गर्दा बिक्री दबाब थप बढेको विश्लेषण गरिएको छ।
यससँगै अहिलेको गिरावट केवल नीतिगत कारणले नभई बजारको माग–आपूर्ति, लगानीकर्ताको धारणा र समग्र आर्थिक वातावरणको संयुक्त प्रभाव रहेको देखिन्छ।



