प्रधानमन्त्री बालेनको आग्रह : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतमा जुट्न आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको बाढीबाट प्रभावित क्षेत्रमा आआफ्नो ठाउँबाट उद्धार, खोज तथा राहत कार्यमा जुट्न सबैसँग आग्रह गरेका छन्।

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले रसुवाको बाढीबाट भएको क्षतिबारे नेपाली सेनाबाट जानकारी लिएका थिए।

बैठकपछि प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई आगामी कदमका विषयमा आवश्यक निर्देशन दिँदै प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउन आग्रह गरेका हुन्।

तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएकाले धादिङ र चितवनसम्मका तटीय क्षेत्र पनि प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको थप जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाका दुई हेलिकप्टर रसुवा पुगेर उद्धार कार्यमा खटिएका छन्।

त्यस्तै त्रिशूलीस्थित जिल्ला अस्पताललाई आवश्यक सहयोग पुर्‍याउन नेपाली सेनाको आपतकालीन मेडिकल रेस्क्यू टोली एमआई–१७ हेलिकप्टरसहित परिचालन गरिएको छ।

धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनका दक्ष जनशक्ति पनि परिचालन गरिएको सेनाले जनाएको छ। घटनाबाट भएको क्षतिको विवरण संकलन गर्ने कामसमेत जारी रहेको छ।

यसैगरी सशस्त्र प्रहरी बलले उद्धारका लागि नम्बर १९ गुल्म नुवाकोट, संयुक्त राष्ट्रसंघ शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट तथा नम्बर १७ गण चितवनबाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin