काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनामा संलग्नलाई एक वर्ष बितिसक्दा पनि कारबाही हुन नसकेको बताएका छन्।
भदौ २४ को घटनालाई स्मरण गर्दै भिडियो सन्देश जारी गरेका प्रचण्डले केही घन्टाभित्रै मुलुकभर भएको विध्वंस रहस्यमयी रहेको भन्दै यसको गहिरो अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।
उनले घटनाका वास्तविक दोषी पहिचान गरी कारबाही गर्नुपर्नेमा जोड दिए। तर एक वर्षको अवधिमा त्यसतर्फको प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि नबढेको र दराजमा थन्क्याइएको आरोप लगाए।
उनका अनुसार भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताको मागसहित आन्दोलन गरेका थिए। तर भदौ २४ गतेको घटनामा ती युवाहरूको प्रतिनिधित्व नरहेको उनले दाबी गरे।
‘जेन–जी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्न तथा २३ गतेको आन्दोलनलाई अपहरण र कब्जा गर्नेहरूकै हालिमुहाली भएको देखिन्छ,’ प्रचण्डले भने।
उनले भदौ २४ को घटनाको अनुसन्धान र दोषीमाथि कारबाही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै दृष्टिले महत्वपूर्ण रहेको बताए।
प्रचण्डले नेपालको भूराजनीतिक परिस्थितिलाई समेत ध्यानमा राखेर घटनाको अन्तर्राष्ट्रिय आयामबाट अध्ययन गर्नुपर्ने बताए। साथै, सुरक्षा निकाय र राजनीतिक नेतृत्वको भूमिकाबारे पनि गहिरो अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।



