नेकपाद्वारा पार्टीविरुद्ध मतदान गर्ने नेतामाथि कारबाहीको तयारी

पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीविरुद्ध मतदान गर्ने नेताहरूलाई कडा कारबाही गरिने बताएका हुन्।

उनले पार्टीभित्रबाटै उम्मेदवारविरुद्ध मतदान भएको विषयमा गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित विवरण माग गरेका छन्।
“केन्द्रीय सदस्यदेखि प्रदेश र जनवर्गीय संगठनका नेतासम्म को-को आफ्नो क्षेत्रमा गएनन्, कसले मतदान गरेनन् वा ‘घन्टी’मा मतदान गरे—त्यसको स्पष्ट रिपोर्ट दिनुपर्छ,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ मतदान गर्ने नेताहरूको पहिचान गरी कारबाही नगरे पार्टी सुदृढ बनाउन नसकिने उनको भनाइ छ।
“कारबाही अनिवार्य छ, नत्र पार्टी निर्माण सम्भव हुँदैन। त्यसैले कारबाही केन्द्रीय सदस्यबाटै सुरु गरिनेछ,” उनले स्पष्ट पारे।

प्रारम्भिक रिपोर्टअनुसार करिब ५० प्रतिशत नेताको मत ‘घन्टी’तर्फ गएको संकेत प्राप्त भएको भन्दै उनले ठोस प्रमाणसहित विवरण पेश गर्न निर्देशन दिएका छन्।
“को-कोले पार्टीविरुद्ध मतदान गरे भन्ने तथ्य ल्याउनुस्, हामी कुनै हिचकिचाहट बिना कारबाही गर्छौं,” उनले भने।

प्रचण्डले पार्टी पुनर्गठनको प्रक्रिया यहीँबाट सुरु हुने उल्लेख गर्दै अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागू गरिने बताए।

कार्यक्रममा पार्टीको तल्लो तहबाट आएका सुझाव र आलोचनालाई सचिवालयमा प्रस्तावका रूपमा लैजाने र त्यहाँबाट निर्णय गरिने जानकारी पनि उनले दिए।
“काम गर्ने र नगर्नेबीच भेद नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। निर्वाचनका बेला पार्टी छाड्नेहरूलाई पार्टीमा राख्न मिल्दैन,” उनले जोड दिए।

महासंघका अध्यक्ष जगत सिंखडा ले प्रचण्डको अभिव्यक्ति अहिलेसम्मकै कठोर रहेको टिप्पणी गर्दै पार्टीलाई बलियो बनाउन यस्ता कदम आवश्यक भएको बताए।

उनका अनुसार महासंघले पार्टी संरचना सुदृढ बनाउने, महाधिवेशनको मिति छिटो तय गर्ने र निर्वाचन समीक्षा प्रभावकारी बनाउने सुझाव नेतृत्वसमक्ष प्रस्तुत गरेको छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको थियो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card